लमजुङको ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण कार्य १५ महिनापछि फेरि सुरु भएको छ। बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको दरबारमा गत वैशाख २० गतेदेखि पुनः निर्माणले गति लिएको हो।
बजेट अभाव र ठेक्का प्रक्रियाको ढिलाइका कारण लामो समयदेखि रोकिएको काम अहिले पुनः सञ्चालनमा आएको पुरातत्व विभागले जनाएको छ। हाल दरबारमा पुराना तथा नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्ने लगायतका काम भइरहेको छ।
पुरातत्व विभागका अनुसार चालु आर्थिक वर्षका लागि करिब ४२ लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको छ। तर उपलब्ध बजेटले सम्पूर्ण पुनर्निर्माण सकिने अवस्था भने छैन। अहिले मुख्यतः माथिल्लो भागको पर्खाल, छानोका लागि काठ राख्ने तथा संरचनाको जाँच गर्ने काम भइरहेको बताइएको छ।
स्थानीयवासीले लामो समयपछि काम सुरु भएकामा खुसी व्यक्त गरेका छन्। गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले निर्माण अघि बढेसँगै स्थानीयमा आशा पलाएको बताए।
नगरप्रमुख गुमानसिंह अर्यालले भने दरबार पुनर्निर्माणमा केन्द्रीय सरकारको बेवास्ताका कारण ढिलाइ भएको आरोप लगाए। निर्माण रोकिँदा पर्यटन प्रभावित हुनुका साथै स्थानीयको आम्दानीसमेत घटेको उनको भनाइ छ।
शाहवंशीय इतिहाससँग जोडिएको लमजुङ दरबार पुरानै शैलीमा पुनर्निर्माण भइरहेको छ। बुइँगलसहित तीनतले दरबार र प्यागोडा शैलीको कालिका मन्दिर निर्माण गरिने योजना रहेको छ।