काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ ।
शुक्रबार कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्थलगत अनुगमन गर्दै त्यस्तो निर्देशन दिएकी हुन् । योजना अनुगमन समितिका संयोजक एवं कार्यवाहक प्रमुख डङ्गोलले सवलीकरण योजनाको अनुगमन गर्दै निर्माणका हरेक प्रक्रियालाई सुक्ष्म निगरानी गर्न सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई निर्देशन दिएकी हुन् ।
रेक्टोफिट भइरहेको बागदरबारको लागत अनुमान भ्याट, कन्टिजेन्सी, पीएससहित रु ७४ करोड ४७ लाख ३९ हजार ४४३ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट आएको निर्माण पक्षसँग रु ४२ करोड ९० लाख १४ हजार ३१० मा सम्झौता भयो । बोलपत्रदातालाई मङ्सिर १५ गते कार्यादेश दिइएको हो । निर्माणकार्य २०८४ मङ्सिर १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । अहिले पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।