भोजपुर । जिल्लाको अरुण गाउँपालिका अन्तर्गत पर्ने मर्याङडाँडामा हिन्दू, बौद्ध र किरात धर्मसँग सम्बन्धित संरचनासहितको त्रि–धार्मिक परिसर निर्माण गरिएको छ। धार्मिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले एउटै स्थानमा तीन धर्मका आस्थास्थल विकास गरिएको हो।
करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त परिसर अरुण आध्यात्मिक प्रतिष्ठान को पहलमा निर्माण गरिएको हो। प्रतिष्ठानका सचिव सोमनाथ शर्माका अनुसार विभिन्न धर्मावलम्बीले आ–आफ्नो धार्मिक परम्परा र संस्कार अभ्यास गर्न सहज वातावरण सिर्जना गर्ने लक्ष्यले योजनाबद्ध रूपमा संरचना निर्माण गरिएको हो।
परिसरभित्र हिन्दू धर्मावलम्बीका लागि मन्दिर, किरात समुदायका लागि मानखिम घर र बौद्ध धर्मावलम्बीका लागि स्तूपा निर्माण गरिएको छ। साथै धार्मिक अध्ययन र अन्तरधार्मिक ज्ञान आदान–प्रदानलाई संस्थागत बनाउन पाठशाला सञ्चालनमा ल्याइएको छ। हाल उक्त पाठशालामा ७२ जना प्रशिक्षार्थी अध्ययनरत रहेका छन्, जहाँ तीनै धर्मसम्बन्धी आधारभूत तथा व्यवहारिक शिक्षा प्रदान गरिँदै आएको छ।
यसका अतिरिक्त गौशाला, बहुउद्देश्यीय सभाहल, भोजनालय, अतिथि गृह र योगशालासमेत निर्माण गरिएका छन्। परिसरमा नियमित रूपमा ध्यान, योग, सत्सङ्ग, प्रवचन तथा धार्मिक–सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विशेष पर्वका अवसरमा तीनै धर्मका अनुयायीहरूलाई एकै स्थानमा भेला गराई संयुक्त कार्यक्रम आयोजना गर्ने अभ्यासलाई समेत संस्थागत गर्ने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ।
निर्माण कार्य विसं २०७७ देखि सुरु भएको हो। हालसम्म संघीय र प्रदेश सरकार, जिल्लाका नौ स्थानीय तह तथा विभिन्न संघ–संस्थाको सहयोगमा करिब आठ करोड रुपैयाँ बराबरको लगानी जुटाइएको जनाइएको छ। चरणबद्ध विस्तार योजनाअनुसार भारतीय दूतावासको करिब चार करोड र गाउँपालिकाको एक करोड रुपैयाँको लागत साझेदारीमा विद्यालय भवन निर्माण कार्य अघि बढिरहेको छ।
समाजसेवी डा। लोचन कार्कीले धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा क्षेत्रलाई विकास गर्ने उद्देश्यले आफ्नो परिवारबाट करिब ३० रोपनी जग्गा निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो। यस परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बौद्ध स्तूपा निर्माणमा पहल गरेका लोचावा पुण्यप्रसाद सुवेदीले जन्मभूमिप्रति सम्मान स्वरूप विभिन्न दाताको सहयोगमा स्तूपा निर्माण सम्पन्न गरिएको बताउनुभयो। धार्मिक संरचनाले स्थानीय युवापुस्तालाई मौलिक पहिचान र आध्यात्मिक मूल्यसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
धर्मगुरु प्राडा गुरुप्रसाद सुवेदीका अनुसार भविष्यमा यस क्षेत्रलाई धार्मिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ। यहाँ धार्मिक ग्रन्थ अध्ययन, अन्तरधार्मिक संवाद तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्न सकिने बताइएको छ।
प्रतिष्ठानले आगामी चरणमा प्राकृतिक चिकित्सा केन्द्र, सांस्कृतिक सङ्ग्रहालय र ध्यान–आश्रम स्थापना गर्ने लक्ष्य लिएको छ। स्थानीयवासीका अनुसार त्रि–धार्मिक परिसरले अरुण क्षेत्रलाई नयाँ पहिचान दिलाएको छ र धार्मिक सहअस्तित्वको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।