काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत बढाउन बढी बिजुली प्रयोग गर्नेलाई कम महसुल लाग्ने प्रणाली निर्माण भइरहेको बताएका छन् ।
बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन बढी हुने मौसममा खेर जाने ऊर्जा उपयोग गर्न यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए । हाल बढी विद्युत् खपत गर्दा बढी महसुल तिर्नुपर्ने व्यवस्था छ ।
५० युनिटभन्दा बढी विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्थाले केही समस्या भएको भन्दै उनले त्यसको समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए ।
मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा संरचनाको प्राविधिक मूल्याङ्कन भइरहेको पनि जानकारी दिए । प्रसारण लाइनको अभावमा उत्पादन भइरहेको विद्युत्समेत खपत गर्न नसकिएकाले त्यसको निर्माणलाई प्राथमिकता दिइने उनले बताए ।