म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले २२० केभी दाना–खुर्कोट प्रसारण लाइनका चार टावर ढलाउँदा विद्युत् सेवा बन्द भएको थियो।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्था गरी मिलनचोक–दाना हुँदै मुस्ताङको कोवाङसम्मको ३३ केभी प्रसारण लाइन मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन गरेको हो। मुस्ताङमा असोज २४ गतेदेखि विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ।
बाढीले प्रसारण तथा वितरण लाइनका पोल, तार र उपकरणमा क्षति पुर्याएको थियो। विद्युत् आपूर्ति पुनः सञ्चालन भएपछि अवरुद्ध सञ्चार सेवा पनि सञ्चालनमा आएको छ। बाढीका कारण म्याग्दीका मिस्त्रीखोला, नीलगिरि, रेलेखोला र घारखोला जलविद्युत् आयोजना भने बन्द छन्।