काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज २५ गतेको निर्णयअनुसार मंगलबार सूचना प्रकाशित गर्दै उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।
कालोसूचीमा पर्नेमा कैलालीको बराहा डेभलपर्स प्रालि रहेको छ। भीमबहादुर साउँद मुख्य व्यक्ति रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै, दिपक निर्माण सेवा, अभियन्ता कन्स्ट्रक्सन प्रालि, फूलबाराही डेभलपर्स एण्ड इन्भेष्टमेन्ट प्रालि र प्रिन्स कन्स्ट्रक्सनलाई दुई–दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
सम्बन्धित स्थानीय तह तथा सरकारी निकायको सिफारिसमा कारबाही गरिएका यी कम्पनीले कालोसूचीमा रहेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
