काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेतीले विपद्पछिको पुनर्निर्माणका लागि क्षतिको प्रकृतिअनुसार फरक–फरक मापदण्ड बनाउनुपर्ने बताएका छन्।
पूर्वयोजनाकार मञ्चले आयोजना गरेको कार्यक्रममा उनले भूकम्प र बाढीबाट हुने क्षतिको स्वरूप फरक हुने भएकाले एउटै मापदण्ड लागू गर्दा प्रभावितले पर्याप्त राहत तथा सुविधा नपाउने बताए।
हाल अस्थायी आवास निर्माणका लागि सरकारले दुई किस्तामा ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। भूकम्पमा घर भत्किए पनि काठ, इँटा लगायत सामग्री बाँकी रहने भए पनि बाढीले सबै सामग्री बगाउने भएकाले थप रकम आवश्यक पर्ने उनको भनाइ छ।
जलवायु परिवर्तनसँगै विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै उनले वैज्ञानिक सूचनालाई नीति निर्माणमा समेट्न र क्षेत्रअनुसार फरक रणनीति बनाउनुपर्नेमा जोड दिए।