गोरखा । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले गोरखामा ठूलो क्षति पुर्याएको छ। बाढीले कम्तीमा १० जनालाई सम्पर्कविहीन बनाएको छ भने ६ वटा पुल र चुमनुब्री गाउँपालिकाका करिब ३५ घर बगाएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको हो।
बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ। धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ।
त्यस्तै, माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडोभर्याङ–जगत र सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।
बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।