बागलुङ । गत साता आएको बाढीपहिरोबाट बागलुङमा १३ जनाको मृत्यु भएको छ भने सडक पूर्वाधारमा मात्रै करिब ५० करोड रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।
सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्गमा ३० करोड र प्रदेशस्तरीय सडकमा २० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। दीर्घकालीन पुनर्निर्माणका लागि भने एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।
मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्डमा सबैभन्दा बढी क्षति भएको छ। निसीखोलाको कानाबगर र झिवाखोलामा करिब ४०० मिटर सडक बगेको छ भने घोडाबाधेदेखि हटियासम्म दर्जनौँ स्थानमा पहिरो गएको छ।
यस्तै, कालीगण्डकी करिडोर, बागलुङ–बेनी तथा हरिचौर–ताराखोलालगायत सडकमा समेत ठूलो क्षति पुगेको छ।