काठमाडौं । दार्चुला जिल्ला अस्पताल निर्माणको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । निर्माण कार्य अलपत्र परेको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि कामले गति लिएको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत अस्पताल निर्माणको प्रगति ८५ प्रतिशत पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार साउन अन्तिम साता सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षणका क्रममा अस्पताल निर्माणको काम अलपत्र अवस्थामा भेटिएपछि मन्त्रालयले सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
मन्त्रालयको निरन्तर सुपरिवेक्षणपछि निर्माणले गति लिएको र अस्पतालको स्ट्रक्चरल काम सम्पन्न भएको छ । भित्री प्लास्टर, आल्मुनियम तथा विद्युतीय जडानको अधिकांश काम सकिएको छ भने बाहिरी प्लास्टर अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले बताएका छन् ।
मन्त्रालयले निरन्तर अनुगमन र पहलमार्फत निर्धारित समयभित्रै अस्पताल सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको जनाएको छ ।