काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा सभापति भरत खड्काले ठेक्का रद्दसँग सम्बन्धित सबै कागजात सात दिनभित्र बुझाउन निर्देशन दिएका हुन् । कागजात प्राप्त भएपछि समितिले थप अध्ययन तथा अनुसन्धान गरी यस विषयमा छलफल अघि बढाउने उनले बताए ।
टेन्डरका सबै प्रक्रिया पूरा भई अन्तिम चरणमा पुगिसकेको अवस्थामा ठेक्का रद्द गरिएको भन्दै उजुरी परेपछि समितिले यस विषयमा चासो देखाएको हो ।
उजुरीमा आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम समयमा प्रक्रियागत त्रुटि देखाउँदै रद्द गरिएको दाबी गरिएको छ । ठेक्का रद्द गरेर पुनः प्रक्रिया अघि बढाउँदा राज्यलाई आर्थिक नोक्सानी हुने जिकिरसमेत उजुरीकर्ताले गरेका छन् ।
समितिले मागेका कागजात अध्ययन गरेपछि ठेक्का रद्दको प्रक्रिया, त्यसको औचित्य र राज्यलाई पर्न सक्ने आर्थिक दायित्वबारे थप छलफल गर्ने भएको छ ।