काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लाका सडक अझै अवरुद्ध रहेका छन्। प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकमा यातायात प्रभावित भएको छ।
रसुवाको मुख्य राजमार्ग भदौ १० गतेदेखि नै पूर्णरूपमा अवरुद्ध छ। म्याग्दीको बेनी–जोमसोम सडक पनि असोज १० गतेदेखि पहिरोका कारण बन्द रहेको प्रहरीले जनाएको छ।
यस्तै, असोज ९ गते राति आएको बाढीले मनाङको खाङसार–बेंसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। उक्त सडकसमेत अझै सञ्चालनमा आउन सकेको छैन।
नवलपरासी पूर्वको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३ जन्तीमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ। उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।