बागलुङ । मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि बागलुङको पर्यटन, व्यापार र दैनिक जनजीवन प्रभावित भएको छ। मुख्य सडक अवरुद्ध हुँदा दसैँमा पर्यटकले भरिभराउ हुने होटल यस वर्ष सुनसान बनेका छन्।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वततर्फको पहुँचमार्ग बगाएपछि १२ दिनदेखि बागलुङ र पर्वतबीचको नियमित यातायात ठप्प छ। यसले कालिका मन्दिर, पञ्चकोट र ढोरपाटन घुम्न आउने पर्यटकको आवागमन घटाएको छ।
वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेको छ। ग्यासमा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च लाग्न थालेपछि बजारमा मूल्यसमेत बढेको छ।
सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउन चौबीसै घण्टा काम गरिरहेको जनाएको छ।