तनहुँ । तनहुँको घिरिङ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी नदीमाथिको पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण गरिने भएको छ।
असोज ११ गतेको बाढीले पहुँच सडक क्षतिग्रस्त बनाएपछि पुलबाट सवारीसाधन सञ्चालन हुन सकेको छैन। यसले तनहुँ हुँदै नवलपुर जाने र पोखरा आउने यात्रुको आवागमन प्रभावित भएको छ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाका अनुसार सडक डिभिजन दमौलीको समन्वयमा निर्माणकार्य सुरु गर्न लागिएको हो। आवश्यक उपकरण बिहीबार कार्यस्थलमा पुगिसकेको छ।
पुलको नवलपुरतर्फको पहुँच सडक भने यसअघि नै निर्माण सम्पन्न भइसकेको बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले जानकारी दिए।