काठमाडौं । करिब १२ वर्षदेखि अल्झिएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। बाँकी दुई मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दसैँलगत्तै प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार प्रसारण लाइनका १६ टावरमध्ये १४ वटा निर्माण सम्पन्न भइसकेका छन्। बाँकी दुई टावर पनि १०–१५ दिनभित्र तयार गरी परीक्षण र चार्जिङ प्रक्रिया अघि बढाइनेछ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइनलाई नेपालको ऊर्जा क्षेत्रको ‘मेरुदण्ड’का रूपमा व्याख्या गर्दै सञ्चालनपछि विद्युत् प्रणाली थप सन्तुलित र गुणस्तरीय हुने बताए।
हाल करिब ३०० मेगावाट विद्युत् प्रवाह भइरहेको यो खण्ड सञ्चालनमा आएपछि करिब २ हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने जनाइएको छ। प्रसारण लाइनले पूर्व–पश्चिम विद्युत् आपूर्ति, आन्तरिक खपत र विद्युत् व्यापार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।