काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ।
मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर प्रसारण लाइन चार्ज भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यससँगै उपत्यकामा विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
चोभार सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर, फर्पिङ, पुल्चोक र एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति तथा भोल्टेज सुधार हुने अपेक्षा गरिएको छ। चोभारदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर भूमिगत १३२ केभी प्रसारण लाइन निर्माण भने जारी छ।
ललितपुरको खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रमा स्थानीय अवरोधका कारण मूल आयोजनाको प्रसारण लाइन निर्माण अघि बढ्न नसकेपछि चोभारलाई वैकल्पिक रूपमा विकास गरिएको हो।