तनहुँ । कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि बन्द भएको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
असोज ११ गतेको बाढीले पुलको दुवैतर्फको पहुँच सडक बगाएको थियो । नवलपुरतर्फको अस्थायी सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक बुधबार सम्पन्न भएपछि पुल सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।
तनहुँतर्फको पहुँच सडक सडक डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो ।
पुल सञ्चालनमा आएसँगै कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवन आवतजावत सहज हुने भएको छ । साथै, यात्रु तथा मालसामान ढुवानीमा राहत पुग्ने अपेक्षा गरिएको छ ।