रसुवा। बाढीपहिरोले क्षति पुर्याएको रसुवाको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको श्रमदानमा मर्मत गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ का बासिन्दाले पहिरो गएको स्थानमा मर्मत गरी पदमार्ग सञ्चालनयोग्य बनाएका हुन्। गत भदौ १० गतेको बाढीले स्याफ्रु बजारमा क्षति पुर्याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो।
वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार मुख्य प्रवेशमार्ग अवरुद्ध भएपछि पर्यटक र स्थानीयका लागि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको छ। अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिन्छ।