काठमाडौँ। भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटाको बृहत् र सातवटाको सामान्य मर्मत गरिएको हो।
बृहत् मर्मत गरिएका पुलका लट्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने, स्टिल डेक तथा बिम जडान गर्ने र साइडको जाली राख्ने काम गरिएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।
पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको उनले बताए। पुल सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित क्षेत्रका स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।