चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा निर्माण गरिएको १५ शय्याको आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ। १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनबाट अब स्वास्थ्य सेवा सञ्चालन गरिएको हो।
आर्थिक वर्ष २०७९/८० बाट निर्माण थालिएको भवन जग्गासम्बन्धी विवादका कारण केही समय ढिलाइ भएको थियो। अस्पतालमा ओपीडी, माइनर ओटी, आँखा, दाँत, फिजियोथेरापी, ल्याब, फार्मेसी, एक्सरे र भिडियो एक्सरेलगायत सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ।
अस्पतालमा थप चिकित्सक तथा जनशक्ति व्यवस्थापनका लागि संघीय सरकारसँग माग गरिएको छ। नयाँ भवनबाट इच्छाकामनाका साथै तनहुँ, गोरखा र धादिङका सेवाग्राहीसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। अस्पताललाई भविष्यमा ट्रमा सेन्टरका रूपमा विस्तार गर्ने गाउँपालिकाको योजना छ।