काठमाडौँ । गत भदौ १० गते रसुवा–भोटेकोशी नदीमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँको क्षति भएको हो।
बाढीबाट नुवाकोट, रसुवा, धादिङ र गोरखाका ६ हजार ८१७ घरपरिवार तथा ४९९ व्यवसाय प्रभावित भएका छन्। कुल ३२ हजार ८७२ जनसङ्ख्या प्रभावित हुँदा २ हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
सर्वेक्षणअनुसार सबैभन्दा बढी ३५ अर्ब ४४ करोड रुपैयाँको क्षति जग्गाजमिनमा पुगेको छ। घरको घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माणमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ।
बाढी प्रभावितमध्ये १ हजार ५२९ परिवारले सरकारले उपलब्ध गराउने स्थान वा सामूहिक आवासमा बस्न चाहेको बताएका छन्। आयोगले चार जिल्लाका १५ स्थानीय तहमा १५६ जनशक्ति परिचालन गरी प्रारम्भिक विवरण सङ्कलन गरेको हो।