काठमाडौं । सरकारले बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै नयाँ शहर विकास गर्ने योजना अघि सारेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीले क्षति पुर्याएको स्थानमै पुनः बस्ती बसाल्न सम्भव नभएकाले नयाँ शहरको अवधारणामा जाने बताएका हुन्।
प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले भूकम्पपछिको पुनर्निर्माणभन्दा फरक ढंगले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना गरिने बताए। उनका अनुसार नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक पूर्वाधार तथा सेवा उपलब्ध गराइनेछ।
सरकारले नयाँ शहर निर्माणका लागि आवश्यक जग्गा खरिद गर्ने योजना बनाएको पनि उनले जानकारी दिए। पछिल्लो बाढीले स्थानीय तहलाई विपद् सामना गर्न थप सक्षम र सुविधा सम्पन्न बनाउनुपर्ने पाठ सिकाएको उनको भनाइ छ।