धादिङ । बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ। दसैँपछि फर्किने यात्रुको सङ्ख्या बढेसँगै पुल पार गर्न आधा घण्टाभन्दा बढी पालो कुर्नुपर्ने अवस्था छ।
बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन प्रवेश गराउन सूचना राखिए पनि नियम पालना नहुँदा पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।
समाजसेवी शिवराज सापकोटाले पुलमा भीड बढ्दा दुर्घटनाको जोखिम रहेकाले सुरक्षाकर्मी परिचालन गर्नुपर्ने बताए।
गत भदौ १० गते आएको बाढीले धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएपछि मोटरसाइकल चालकले झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्।