सुर्खेत । निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति ७० प्रतिशत मात्रै पुगेको छ। आयोजना २०८५ असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको छ।
आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर भरत पाठकका अनुसार मुख्य सिभिल संरचना निर्माणमा भएको ढिलाइले अन्य कामसमेत प्रभावित भएको हो। आयोजनाको वित्तीय प्रगति ६७ प्रतिशत छ।
१२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि बाँध, विद्युत्गृह, उपकरण जडान र प्रसारण लाइन निर्माणको काम बाँकी छ। हाइड्रोमेकानिकल प्याकेजको भौतिक प्रगति ६० प्रतिशत र इलेक्ट्रोमेकानिकल प्याकेजको ५५ प्रतिशत पुगेको छ।
आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने र ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। आयोजनाको अनुमानित कुल लागत ३३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी छ।