म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ बजारमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र गरिएको छ। बजारको तल्लो र उपल्लो क्षेत्रमा एक किलोमिटर चार सय मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।
गत आर्थिक वर्ष २०८२/८३ मा ठेक्का सम्झौता भएको योजना केही दिनअघि सम्पन्न भएको हो। एक करोड ६६ लाख ४९ हजार रुपैयाँ लागत अनुमान गरिएको योजनाको निर्माण सापकोटा बिल्डर्सले एक करोड २६ लाख ८२ हजार रुपैयाँमा ठेक्का लिएको थियो। २०८२ माघ ३० गते सम्झौता भएको थियो।
विसं २०६४ मा सडक सञ्जालसँग जोडिएको दरवाङ पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा गाउँपालिकाको केन्द्र हो। सडक कालोपत्र र विस्तारपछि सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडक फराकिलो बनाउन स्थानीयले घरका पेटी र टहरा हटाएर सहयोग गरेका छन्।