काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दसैंभरि विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मत गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्न भनिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालय प्रमुख राजन ढकालले आज प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी यस्तो निर्देशन दिएका हुन्।
कार्यकारी निर्देशक श्रेष्ठले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार गर्न बाँकी भए तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन्। दसैंका बेला विद्युत्सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा आउने फोन उठाउने र प्राविधिक टोली शीघ्र परिचालन गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ।
चाडपर्वमा विद्युत् माग तथा खपतको प्रकृति परिवर्तन हुने भएकाले प्रणालीमा समस्या आउन नदिन प्राधिकरणले निरन्तर निगरानी र आवश्यक समन्वयको व्यवस्था गरेको जनाएको छ।
यसैबीच, प्राधिकरणले उपभोक्तालाई विद्युतीय उपकरण र तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न तथा विद्युत् चुहावट वा तारमा समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन आग्रह गरेको छ। विद्युत् आपूर्तिसम्बन्धी समस्या भए नजिकको वितरण केन्द्र वा ‘नो लाइट’ सेवामा सम्पर्क गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।