काठमाडौं । निर्माणाधीन चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना अन्तिम चरणमा पुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार तीन आयोजना निर्माण सम्पन्न भई चार्ज गर्ने तयारीमा छन् भने हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
ढल्केबर–बालगंगा, लालबन्दी–सलिमपुर र कालीगण्डकी–रिडी प्रसारण लाइन तथा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेका हुन् । ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइनका २४ किलोमिटर तार तान्ने काम सम्पन्न भई गत असोज २० गते चार्ज गरिएको छ । बालगंगा सबस्टेसनको निर्माण भने बाँकी छ ।
लालबन्दी–सलिमपुरअन्तर्गत २० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । सलिमपुर सबस्टेसन पनि चार्ज भइसकेको छ । कालीगण्डकी–रिडीअन्तर्गत २२।४५ किलोमिटर प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भए पनि जोखिममा रहेको एउटा टावर स्थानान्तरण गर्नुपर्ने भएकाले चार्ज गर्ने समय प्रभावित भएको छ ।
यस्तै, हेटौँडा–ढल्केबर खण्डमा ३७८ टावरमध्ये दुईवटा मात्रै निर्माण गर्न बाँकी छन् । यी आयोजनाले विद्युत् प्रसारण क्षमता विस्तार, राष्ट्रिय ग्रिडमा विद्युत् जोड्न र आपूर्ति भरपर्दो बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ ।