म्याग्दी । कालीगण्डकी नदीको बाढी र कटानले क्षति पुर्याएको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ। क्यानडाको प्रविधिमा आधारित अस्थायी टावर निर्माण गरी शनिबार राति साढे १० बजेबाट विद्युत् प्रसारण पुनः सञ्चालन गरिएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा र वडा नं। ६ धिरच्याङमा तीनवटा टावरमा क्षति पुग्दा असोज ११ गतेदेखि म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको थिएन।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले टावर ढालेको २० दिनपछि अस्थायी टावर निर्माण गरी प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो। मर्मतका लागि २० जनाभन्दा बढी इन्जिनियर, उत्तिकै संख्यामा प्राविधिक र ५० भन्दा बढी मजदुर परिचालन भएका थिए।
प्रसारणलाइन अवरुद्ध हुँदा घलेम्दीखोला, मिस्त्रीखोला, निलगिरी–१, निलगिरी–२, रेलेखोला र थापाखोलासहितका जलविद्युत् आयोजना प्रभावित भएका थिए। प्राधिकरणले अस्थायी टावरबाट विद्युत् आपूर्ति सुरु भएसँगै क्षतिग्रस्त टावरको स्थायी पुनर्निर्माण पनि अघि बढाउने जनाएको छ।