बागलुङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीपहिरोबाट क्षतिग्रस्त सडक र निजी आवासको पुनर्निर्माण छिट्टै अघि बढाइने बताएका छन्।
शुक्रबार पश्चिम बागलुङका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण सरकारको पहिलो प्राथमिकता रहेको बताए।
मन्त्री लम्सालले घरबारविहीन भएका परिवारलाई सुरक्षित स्थानमा आवास निर्माण गर्ने योजना अघि बढाइएको जानकारी दिए। बाढीपहिरो पीडितलाई खानपानका लागि मासिक १५ हजार रुपैयाँ राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको पनि उनले बताए।
त्यस्तै, बागलुङका विपद् प्रभावित ६ स्थानीय तहका विपद् व्यवस्थापन कोषमा ४० लाख रुपैयाँका दरले रकम पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री लम्सालले गलकोटको दरमखोला आसपास, बडिगाड, ढोरपाटनको बुर्तिवाङ तथा निसीखोलाको झिवाखोला र कानाबगरलगायत क्षेत्रको निरीक्षण गरेका थिए। क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि आवश्यक योजना र प्राविधिक मूल्याङ्कनबारे स्थानीय जनप्रतिनिधिसँग पनि छलफल गरिएको छ। सरकारले बागलुङका ६ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।