म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतिग्रस्त म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि सडकका विभिन्न २२ स्थानमा क्षति पुगेको हो।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार पहिरोले सडक भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्र बगाएको छ। मालिका गाउँपालिका–६ को बलौटेमा म्याग्दी नदी कटानले करिब एक सय मिटर सडक बगाएको छ भने धवलागिरि गाउँपालिकाको धारापानीमा १५० मिटर ढलान सडक भासिएको छ।
कार्यालयले बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख र पानाबगर–दरवाङ खण्डको बलौटेमा दुई करोड २७ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ।