रसुवा । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको धुञ्चे–स्याफ्रुबेँसी सडकमा सवारीसाधन सञ्चालनका लागि बेलिब्रिज निर्माण तीव्र पारिएको छ। आगामी तिहारअघि नै पुल जडान सम्पन्न गर्ने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएको थियो। उक्त स्थानमा बेलिब्रिज जडान गर्न जग निर्माण सुरु भइसकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा भइरहेको निर्माणको शनिबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेती नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ।
यसैगरी, स्याफ्रुबेँसी–बृद्धिम जोड्ने फड्के पुल निर्माणका लागि प्रशासनले स्टिल केबल उपलब्ध गराएको छ। पुल निर्माणसँगै बाढीका कारण प्रभावित स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।