गोरखा । बुढीगण्डकीको सहायक नदी स्यारखोलामा असोज २५ गते आएको बाढीले भत्काएको चुमभ्याली जाने बाटो मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–६ र ७ जोड्ने बाटोमा क्षति पुर्याएपछि दुई सातादेखि आवागमन बन्द थियो। सर्दीभिरस्थित क्यान्टिलिभर पुलमा क्षति पुगेपछि अस्थायी रूपमा चारवटा काठे पुल निर्माण गरिएको छ।
गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बाटो र पुल मर्मत गरिएपछि मानिस तथा खच्चडलाई खोला वारपार गर्न सहज भएको छ। चुम उपत्यका पदमार्गसमेत पुनः सञ्चालनमा आएको उनले बताए।
बाटो र पुल मर्मतका लागि स्थानीय बासिन्दा दिनरात खटिएका थिए। स्वदेश तथा विदेशमा रहेका स्थानीयले मर्मत टोलीका लागि खाजा खर्चसमेत जुटाएका थिए। बाटो खुलेसँगै चुमभ्याली जाने स्थानीय तथा पर्यटकलाई सहज हुने भएको छ।