काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। प्रतियोगिता सुरु हुन लागेको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाली क्रिकेट खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान)लाई शुभकामना दिएका छन्।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको बताएका छन्। उनले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागतसमेत गरेका छन्।
क्यानका अनुसार प्रधानमन्त्री शाहले आज साँझ ५ बजे त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपीएलको उद्घाटन गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। लुम्बिनीको कप्तानी रोहित पौडेल र सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।
आजदेखि सुरु हुने प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले एक करोड ५० लाख र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।