काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले असोज १७ गते सूचना जारी गर्दै असोज १६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको हो।
विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा कारबाहीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।
कालोसूचीमा पर्नेमा तिलागुफा नगरपालिका, कालिकोटको सिफारिसमा गोर्खबहादुर वटाला मुख्य व्यक्ति रहेको वटाला निर्माण सेवा, खाँडाचक्र–१, कालिकोट र पूर्वाधार विकास कार्यालय, लमजुङको सिफारिसमा सुरेशबाबु श्रेष्ठ मुख्य व्यक्ति रहेको बुढीगण्डकी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, भिमसेन थापा–५, गोर्खा छन्। दुवै कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेका छन्।
यस्तै, सडक डिभिजन जुम्लाको सिफारिसमा विनम्र निर्माण सेवा, सुर्खेत तीन वर्ष, ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर–३, सुर्खेत दुई वर्ष र अविनाश निर्माण सेवा, छायानाथ रारा–१, मुगु एक वर्षका लागि कालोसूचीमा परेका छन्।