जुम्ला । सम्झौताअनुसार समयमै काम सम्पन्न नगर्ने जुम्ला–मनाङ–मुस्ताङ सडक, कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकका ६ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा विनम्र निर्माण सेवा, सुर्खेत तीन वर्ष, ध्रुव निर्माण सेवा, वीरेन्द्रनगर दुई वर्ष र अविनाश निर्माण सेवा, छायानाथ मुगु एक वर्षका लागि कालोसूचीमा परेका छन्।
यस्तै, शंकरमाली निर्माण सेवा, काठमाडौं र मान शाही निर्माण सेवा, कालीकोट तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा, काठमाडौं दुई वर्षका लागि कालोसूचीमा राखिएको सडक डिभिजन कार्यालयले जनाएको छ।
शंकरमालीले नाग्म–गमगडी तथा कश्यपले जुम्ला–मनाङ–मुस्ताङ सडकको सम्झौताअनुसार काम गर्न नसकेको जनाइएको छ। अन्य कम्पनी कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगरेपछि कारबाहीमा परेका हुन्। कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायका खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।