काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले प्रक्रियागत जटिलताका कारण पूर्वाधार क्षेत्रमा अपेक्षाअनुसार विदेशी लगानी भित्र्याउन नसकिएको बताएकी छन्।
शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशालामा बोल्दै उनले लगानी ल्याउन कानुनी समस्या नभए पनि कार्यान्वयन प्रक्रिया जटिल रहेको बताइन्।
‘वान स्टेप’, ‘वान डोर’ र ‘वान विन्डो’ नीति भए पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो। एउटा निकायबाट स्वीकृति लिएपछि पुनः अन्य सरकारी निकाय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न डेटा एकीकरण र अन्तरनिकाय समन्वय आवश्यक रहेको उनले बताइन्।
वैदेशिक लगानीमा बैंकिङ तथा नियामकीय झन्झटले समेत लगानीकर्ता प्रभावित भएको उल्लेख गर्दै उनले कानुन कार्यान्वयनको समीक्षा गरी आवश्यक सुधार गर्नुपर्नेमा जोड दिइन्।