भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ जमिनमा प्रवेश गरेको छ। चक्रवातका कारण भारतका विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ। यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको केन्द्रमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा हावा चलिरहेको छ। यसको प्रभावले आन्ध्र प्रदेशमा रूख ढल्नुका साथै विद्युत् तार चुँडिएका छन् र सडक अवरुद्ध भएका छन्।
नेपालमा चक्रवातको बाहिरी क्षेत्रबाट आएका उच्च बादल फैलिन थालेका छन्। मौसमविद्का अनुसार बुधबार केही स्थानमा हल्का वर्षा हुन सक्नेछ भने बिहीबार साँझदेखि वर्षाको सम्भावना बढ्नेछ।
विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्म लुम्बिनी, गण्डकी र कोशी प्रदेशका धेरै जिल्लामा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा जारी मौसमसम्बन्धी रेड अलर्टसमेत कायमै रहेको छ।