काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम स्कुल तथा अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरेको छ। बुधबार कार्यवाहक प्रमुख सुनिता डंगोलले भवनको शिलान्यास गरेकी हुन्।
शिलान्यास कार्यक्रममा डंगोलले अटिजम वा शारीरिक अशक्तताका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताइन्। निर्माण हुने भवन अटिजम भएका विद्यार्थीको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अनुसन्धान र अभिभावकलाई सहयोग पुर्याउन उपयोगी हुने उनको भनाइ छ।
पाँचतले भवन भूमिगत तलासहित कुल १८ हजार ५०० वर्गफिटको हुनेछ। भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार रुपैयाँमा सम्झौता भएको छ। निर्माण कार्य २०८४ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।