पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजनबाट पछिल्लो आठ महिनामा अलपत्र अवस्थामा रहेका १० वटा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार बजेट अभाव, भेरिएसन स्वीकृति र म्याद थपमा जटिलता तथा निर्माण व्यवसायीको उदासीनताका कारण लामो समयदेखि अलपत्र रहेका पुलहरू सम्पन्न गरिएका हुन्।
मन्त्रालयले बजेट व्यवस्थापन, रकमान्तर, म्याद थप, भेरिएसन तथा डिजाइन पुनरावलोकनमा सहजीकरण गर्नुका साथै काममा ढिलाइ गर्ने निर्माण व्यवसायीसँग छलफल गरेको मन्त्री लम्सालले बताएका छन्।
सञ्चालनमा आएका पुलहरूमा भलुवाही, दुधैला खोला, घोडदह नदी, काली खोला, महुली घाडन खोला, मुतनी खोला, सिसुवारी खोला, सुन्दरी खोला, हडिया खोला र बाबरा नदीका पुल रहेका छन्।