कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ। विमानस्थल सञ्चालनमा आएको लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर ७ः१५ बजे दुबई प्रस्थान गर्नेछ। उडानका लागि अध्यागमन, भन्सार, कार्गोलगायत सबै तयारी पूरा भएको उनले बताए।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई उडानले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए। फ्लाई दुबईले दुबईबाट १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। विमानस्थलमा यात्रु तथा पर्यटकलाई पर्यटन व्यवसायीले स्वागत गर्ने तयारी गरेका छन्।