काठमाडौं । हिमालय एअरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि काठमाडौँ–सांघाई–काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म प्रारम्भिक चरणमा सातामा दुई उडान सञ्चालन हुनेछन्। काठमाडौँबाट सोमबार र शुक्रबार तथा सांघाईबाट मंगलबार र शनिबार उडान हुने एअरलाइन्सले जनाएको छ।
यात्रुको माग र यात्रु भारका आधारमा उडान संख्या थप गरिने कम्पनीले जनाएको छ। उडान पुनः सुरु भएसँगै नेपाल र चीनको प्रमुख सहर सांघाईबीच हवाई सम्पर्क पुनःस्थापित हुनेछ। एअरलाइन्सले यसबाट पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरेको छ।