काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय हवाई सेवा सम्झौताको अन्तिम हस्ताक्षर भएसँगै साउदीका वायुसेवा कम्पनीलाई पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न बाटो खुलेको छ।
गत १५ भदौमा भएको सम्झौताले दुवै देशका तोकिएका वायुसेवा कम्पनीलाई नियमित उडान सञ्चालनका लागि कानुनी तथा संस्थागत आधार प्रदान गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
सम्झौताले नेपाल–साउदी हवाई सम्पर्क विस्तार, पर्यटन तथा यात्रु र मालवाहक सेवा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल साउदीका कुनै पनि वायुसेवा कम्पनीले नेपालमा सिधा उडान गरिरहेका छैनन्। नेपालले अहिलेसम्म ४२ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ।