पोखरा । वर्षा र हिमपातका कारण हिमाली जिल्ला मुस्ताङमा सडक, विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ। बाढी–पहिरोले विभिन्न स्थानमा सडकमा क्षति पुगेपछि जनजीवन प्रभावित भएको हो।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार म्याग्दीबाट आउने प्रसारण लाइनमा समस्या हुँदा विद्युत् सेवा अवरुद्ध भएको छ। इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प रहे पनि मोबाइल नेटवर्कमा भने केही सुधार आएको छ।
पहिरोका कारण लेते, समर खोला र घमीलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ। सडक खुलाउन काम भइरहेको प्रशासनले जनाएको छ। यस्तै, कोरला नाकातर्फ रोकिएका सवारीसाधनलाई सडकको अवस्था र जोखिम मूल्यांकन गरेर मात्रै आवागमन खुलाइने जनाइएको छ।