सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना–हरिपुरमा देखिएको खानेपानी समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामबाट गएको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो।
हरिपुरका करिब २०० परिवार लामो समयदेखि एउटै सबमर्सिबल पम्पको भरमा खानेपानी प्रयोग गर्दै आएका छन्। भूमिगत पानीको सतह घटेपछि अधिकांश घरका चापाकलबाट पानी आउन छाडेको स्थानीयको गुनासो छ।
खानेपानी समस्याबारे समाचार प्रकाशित भएपछि मन्त्रालय र कार्यालयको ध्यानाकर्षण भएको कार्यालय प्रमुख मिहिरचन्द्र आचार्यले बताए। उनका अनुसार तत्काल समस्या समाधानका लागि चार इन्चको करिब १२० मिटर गहिरो बोरिङ र ओभरहेड ट्यांकी निर्माण गर्ने तयारी गरिएको छ।
त्यससँगै स्थानीयको सहजताका लागि करिब ५ देखि १० वटा सार्वजनिक धारा निर्माण गरिनेछ। आवश्यकता अनुसार दोस्रो वा तेस्रो बोरिङसमेत गर्न सकिने कार्यालयले जनाएको छ।
बोरिङ जडानका लागि वडा कार्यालयले जग्गा उपलब्ध गराएपछि मन्त्रालयको निर्देशनअनुसार काम सुरु गरिने आचार्यले बताए।