काठमाडौं । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार विद्यालय भवन र शैक्षिक सम्पत्तिमा गरी ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार प्रभावित विद्यालयका ५६ वटा भवनमा क्षति पुगेको छ। तीमध्ये १५६ वटा कोठा पूर्ण र १५२ वटा कोठा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
नुवाकोटको विदुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ। त्यहाँका नौ विद्यालयका ३२ भवनमा क्षति पुग्दा ३६ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
रसुवाको उत्तरगया गाउँपालिकाका तीन विद्यालयमा १२ करोड २९ लाख र गोसाइँकुण्ड गाउँपालिकाको एक विद्यालयमा ३ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, धादिङको गल्छीमा १० करोड ६१ लाख, बेनिघाट रोराङमा ४ करोड १० लाख र सिद्धलेकमा १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। विद्यालयका शैक्षिक सामग्रीमा मात्रै २४ करोड ९३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।