रसुवा । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको विवरण संकलन गर्न रसुवामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ।
जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा गठित समितिलाई एक महिनाभित्र प्रारम्भिक क्षतिको विवरण संकलन गर्न कार्यादेश दिइएको छ।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समिति गठन गरेको हो। समितिमा सडक आयोजना, सहरी विकास, रसुवा भन्सार, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना लगायतका निकायका प्रतिनिधि छन्।
बाढीले गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि नियमित काम सञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय भएको छ। उत्तरगया गाउँपालिकाको बगाएको भवन पुनर्निर्माणका लागि पनि प्रक्रिया अघि बढाइने भएको छ।