काठमाडौं । लगातार ड्रोन आक्रमण भएपछि साउदी अरबले आफ्नो महत्वपूर्ण १२०० किलोमिटर लामो ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।
रोयटर्सका अनुसार बिहीबार रियाद तथा मदिना क्षेत्रमा पाइपलाइनमाथि ड्रोन आक्रमण भएपछि साउदीले सावधानीस्वरूप पाइपलाइन बन्द गरेको हो। आक्रमणबाट केही मानिस घाइते हुनुका साथै पाइपलाइनमा क्षति पुगेको जनाइएको छ।
उक्त पाइपलाइनबाट पछिल्ला महिनामा दैनिक ४० देखि ५० लाख ब्यारेल कच्चा तेल प्रवाह हुँदै आएको थियो, जुन विश्वव्यापी तेल आपूर्तिको करिब ४–५ प्रतिशत हो। स्ट्रेट अफ हर्मुजमा समेत तेल ट्यांकरको आवागमन प्रभावित भइरहेका बेला पाइपलाइन बन्द हुँदा विश्व बजारमा तेल आपूर्तिमा थप दबाब पर्न सक्ने देखिएको छ।
साउदी र इराकले आक्रमण इराकबाट भएको बताएका छन्। घटनापछि इराकले आक्रमणमा संलग्नको खोजी तीव्र बनाएको छ। साउदीले तत्काल जवाफी कारबाही नगरे पनि आफ्नो सुरक्षा र हितका लागि आवश्यक कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ।