चितवन। भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरु गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो ।
अवैध संरचना हटाउने क्रममा बुधबार नारायणी नदी किनारका आठ संरचना हटाइयो।
यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको र ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको महानगरपालिकाले जनाएको छ ।
भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको जानकारी दिएकी छन्। मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन्।
महानगरभित्र २९ वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन्। विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो ।