नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ। उपमहानगरपालिकाले बुधबार बागेश्वरी मन्दिरपूर्व न्यूरोडतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बंगला कब्जा गरी बसेकाहरुलाई हटाइएको हो ।
उच्च अदालतको आदेशअनुसार उक्त सार्वजनिक जग्गा खाली गराउन थालिएको हो । अदालतले दिएको समय मंगलबार सकिएपछि उपमहानगरपालिकाले मंगलबारै त्यहाँ पुगेर जग्गा खाली गरिदिन अनुरोध गरेको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडाध्यक्ष मनोज श्रेष्ठलगायतको टोलीले दुवै ठाउँमा पुगेर मंगलबार साँझसम्म अतिक्रमित जग्गा खाली गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।
बुधबार पनि उक्त क्षेत्रमै पुगेका नगर प्रमुख विष्टले उच्च अदालतको आदेशअनुसार मंगलबार साँझसम्म जग्गा खाली गर्न अतिक्रमण गरेकासँग आग्रह गरेपछि बुधबार पसल संचालकहरुले आफैं खाली गराएको बताए । विष्टले बागेश्वरी मन्दिरपूर्वको खाली जग्गामा चिल्ड्रेन पार्क र पार्किङस्थल बनाइने सुनाए ।
व्यवसायीहरुले पसल टहरा हटाउन अटेरी गरे डोजर चलाउने तयारी गरिएको थियो । त्यसैअनुसार नेपाल प्रहरी र नगर प्रहरी उपस्थित थिए । तर, व्यवसायीहरुले आफैंले पसलका सामान सारेर आफ्ना संरचना आफैं हटाउन थालेपछि डोजर चलाउनु परेन । दैलेखी बंगलामा बनाइएका अस्थायी टहरामाथि भने डोजर चलाइएको छ । कान्तिपुरबाट