काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस च्याम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ ।
अमेरिकामा बिहीबार आयोजित कार्यक्रममा यूएस च्याम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस च्याम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस च्याम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको बताएको छ । यो ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले जानकारी दिए । एमच्याम मार्फत अब संसारभरबाट नेपालमा लगानी गर्न अनुरोध गर्न सक्ने अवस्था बनेको शाहले बताए । नेपालमा वैदेशिक लगानी भित्राउन यो उपलब्धि कोसेढुङ्गा सावित हुने उनको दाबी छ ।